अछाम। हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको आरोपमा १३ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ।
दुई जना हत्याका योजनाकार र ११ जना हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दर्ता गरिएको हो। किटानी जाहेरीमा भएका व्यक्तिको विवरण खुलाइएको छैन।
किटानी जाहेरी दर्ता गर्न पीडित पक्ष र प्रहरी बीचमा लिखित सहमती भएपछि मृत फेला परेको पाँचौ दिनमा घटानास्थलबाट शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ।
हत्याको आशंकामा सीआइबीको टोलीले मंगलबार बेलुकी पाँच जनालाई नियन्यन्त्रणमा लिएको थियो। तालिम प्राप्त कुकुरसहित सीआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ भने एसएसपी जनकराज पाण्डे समेत घटना अनुसन्धानका लागि अछाम पुगेका छन्।
सभामुख अग्नि सापकोटाले पनि दोषिलाई कार्वाहीको प्रक्रिया अघि बढाउन सरकारलाई बुधबारको प्रतिनिधिसभा बैठकबाट निर्देशन दिएका थिए।
जेठ १७ गते रातीबाट वेपत्ता भएका विनोद पाँच दिनपछि गएको जेठ २१ गते छिमेकी वडाको सल्लाघारीको खोचमा मृत अवस्थामा फेला परेका थिए। गाउँमा झडप भएको खबरमा प्रहरी कालिकास्थानमा पुगेपछि जेठ १७ गते रातीबाट विनोद वेपत्ता भएको आफन्तको भनाइ छ।