अछाम। पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका किशोर विनोद शाहीको शवको पोस्टमार्टमपछि दाह संस्कार गरिएको छ।
शाहीको बिहीबार पंचदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कालिका स्थान बेलेखतको कर्णाली नदीमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको हो।
शव भेटिएको ६ दिनपछि बिहीबार शवको पोष्टमार्टम गरिएको थियो। जिल्ला अस्पताल अछाममा पोष्टमार्टम पछि आफन्तले उनको शव बुझेका थिए
१३ जनाको नाममा किटानी जाहेरी दर्ता
मृत भेटिएका किशोर विनोदको हत्या भएको भन्दै १३ जनाको नाममा किटानी जाहेरी दर्ता भएको छ।
किशोरका आफन्तले उनको हत्यामा संलग्न भएको भन्दै १३ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए।
पंचदेवल नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेलगायतका १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको हो । चलाउने कांग्रेसबाट मेयरमा विजयी हुन्।
घटनाको अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली घटनास्थलमै खटिएको छ। घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सङ्घीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली समेत परिचालन भएको छ।
नेकपा एमालेले नेपाली कांग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाउँदै आएको छ।
जेठ १७ गते रातीदेखि बेपत्ता रहेका विनोदको शव घर नजिकैको कुुच्चि जङ्गलको खोँचमा भेटिएको थियो।