काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा दुई शव फेला परेको छ।
उक्त स्थानमा शुक्रबार बिहान दुई शव फेला परेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। मृतक एकजना गोरखाको सिरानचोक गाउँपालिकास्थित छोप्राकका केशव घिमिरे रहेको र अर्काको सनाखत हुन सकेको छैन।
अविरल वर्षापछि गएराति त्यहाँ सडक भासिएको प्रहरीले जनाएको छ। भासिएको सडकमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको अवस्थामा फेला परेको छ। मोटरसाइकल चालक भने सकुशल छन्।
कार भने मर्स्याङ्दी नदीमा पुगेको छ । कारमा कति मान्छे थिए भन्ने खुल्न नसकेको र घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।
पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ।
सडक भासिँदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ।