मोरङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत नगर्ने बताएका छन्।
विराटनगरमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले पार्टी छाडेर गएकाहरूलाई स्वागत नगर्ने तर प्रवेशमा रोक नभएको बताए।
उनले भने, ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं। पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नुहुन्छ तर स्वागत गर्ने चलन छैन।’
उनले स्थानीय तहको निर्वाचनमा थोरै सिट संख्याका आधारमा एमाले दोस्रो भए पनि लोकप्रिय भोटमा एमाले पहिलो रहेको दाबी गरे। नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा एमालेलाई अधिक स्थानमा विजयी गराउने जिकिर ओलीले गरे। उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने बताए।
उनले गठबन्धनबारे आफूले गरेको भविष्यवाणीको लक्षण देखिन थालेको बताए। यसअघि उनले गठबन्धन असार १७ पछि नजाने दाबी गरेका थिए।
नेकपा एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने र नयाँ नियुक्त गर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले नमानेको भन्दै गठबन्धनमा खटपट सुरु भएको ओलीले दाबी गरे।
अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताए। उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको आरोप लगाए।
उनले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताए।