धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ ले अपांगता भएका व्यक्तिहरुलाई पंखा वितरण गरेको छ। यस्तै स्वयंसेविकालाई साइकल वितरण गरेको छ। शुक्रबार धनगढीका मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना र वडा अध्यक्ष धर्मराज ओझाले संयुक्त रुपमा हस्तारन्तण गरेका हुन्।
धनगढीमा केही दिनदेखि अत्यधिक गर्मी हुन थालेपछि ‘क’ वर्ग र ‘ख’ वर्गका गरी ४५ जना अपांगता भएका व्यक्तिलाई गर्मीबाट राहत दिन वडा कार्यालयले टेबुल पंखा वितरण गरेको हो। अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला ‘क’ वर्गका अपांगता भएका व्यक्तिलाई झनै सकस रहेको वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाले बताए।
यसैगरी वडा कार्यालयले वडामा रहेका १० जना महिला स्वयंसेविकालाई साइकल वितरण गरेको छ । गाउँघरमा गएर स्वास्थ्य चेतना फैलाउने स्वयंसेविकालाई साइकल वितरण गरिएको पनि वडाध्यक्ष ओझाले बताए।