काठमाडौं। नुवाकोटमा एक पुरुष ६ घण्टादेखि विद्युत प्रसारण लाइनको तारमा झुन्डिएर बसेका छन्।
शनिबार बिहान ९ बजे ककनी गाउँपालिका–७ मा रहेको विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका ती व्यक्ति अहिले अपरान्हसम्म पनि तारमा हिँडिरहेको प्रहरीले जनाएको छ।
उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन्। विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन्। दुईवटा सर्किट रहेकामा एउटा मात्रै चालू अवस्थामा रहेकाले दुर्घटना हुन नपाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयको भनाइ छ। उनलाई ओर्लन प्रहरी र स्थानीय लागेका छन्। तर, उनले ओर्लन नमानेपछि प्रहरी तनावमा परेका छन्।
ती व्यक्तिलाई तल झर्न अनुरोध गर्नेभन्दा बाहेक आफूहरुसँग अरु उपाय नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। मानसिक सन्तुलन गुमाएका उनले बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको बताइएको छ।
मानसिक सन्तुलन गुमाएका विक प्रसारण लाइनको टावर हुँदै तारमा पुगेपछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट उत्पादन बन्द भएको छ। त्रिशुली थ्री ए बन्द हुँदा अहिले प्राधिकरणलाई विद्युत व्यवस्थापनमा समस्या परेको छ।
जसका कारण एक घण्टामा १० लाख घाटा भइरहेको छ। काठमाडौं आउने, भारत पठाउने सबैतिर जाने राष्ट्रिय प्रशारण लाइन यही हो।