नेपालगन्ज। नेपालगन्ज–रुपैडिया सीमा नाकाको समस्याका विषयमा अन्तरक्रिया गरिएको छ।
नेपालगन्जमा नेपाल भारत खुला सीमा संवाद समूहका केन्द्रीय संयोजक राजीव झाको प्रमुख आतिथ्यतामा नेपाल भारत खुला सीमा संवाद समूह बाँकेले नेपालगन्ज–रुपैडियाको समस्याका विषयमा अन्तरक्रिया गरेको हो।
अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज र रुपैडियाका जनताले भोगेका समस्याबारेमा छलफल भएको छ। कार्यक्रममा नेपाल–भारत सीमा नाकामा रिक्साको आवात–जावतमा रोक लगाएका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको, नेपालगन्जका होटल व्यवसायीले सुरक्षाको मापदण्ड प्रयोग नगरेको, खुला सिमानाका कारण अवैध चोरीपैठारी भई रहेको, भारतमा नेपाली गाडीहरुले सहज पास पाउन नसकेको जस्ता समस्या सहभागीले उठाए।
साथै दुवै देशबीच सामाजिक, सांस्कृतिक, रितिरिवाज, रहनसहनको समानता भएका कारण त्यसलाई नखल्बलाई समस्या सुल्झाउन सम्बन्धित निकायको ध्यान केन्द्रित गर्नुपर्ने सुझाएका छन्।
कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले दुवै देशको सुरक्षालाई ध्यानमा राखेर देखिएका समस्याको हल गर्नुपर्ने बताए। उनले सीमा भिडभाड कम गर्न रिक्साको आवातजावतमा रोक लगाइएको बताए।
नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले दुवै पक्षीय समस्याका लागि समिति बनाएर अघि बढ्नुपर्ने सुझाव दिए। उनले दुवैतर्फ समितिका सदस्य भएमा कसैलाई समस्या परेको बेला उनीहरुबाट मद्दत लिन सकिने बताए। साथै उनले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिए।
त्यसैगरी कार्यक्रमा समाजिक आभियान्त विनोद आग्रहारिले नेपालगन्जका होटल व्यवसायी र घरधनीले घर तथा कोठा भाडामा दिँदा अनिर्वाय रुपमा परिचयपत्रको नियम लागू गर्नुपर्ने बताए।