धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी र प्रदेश नम्बर २ का पूर्व प्रदेश प्रमुख राजेश अहिराजबीच भेटवार्ता भएको छ। प्रदेश प्रमुख जोशीको धनगढीस्थित आवासमा दुबै जनाको भेटवार्ता भएको हो।
दुबै जनाबीच समसामयीक विषयमा कुराकानी भएको छ। तीन दिनदेखि सुदूरपश्चिमको भ्रमणमा रहेका अहिराजले कञ्चनपुरको शुक्लाफाँटा राष्टिय निकुञ्ज, थारु बस्तीहरु र दोधारा चाँदनीको भ्रमणपछि प्रदेश प्रमुख जोशीसँग भेट गरेका हुन्।
भेटमा अहिराजले शुक्लाफाँटा बन्यजन्तु आरक्ष भएका बेला, त्यहाँबाट विस्थापित भएका नागरिकहरु अहिलेसम्म धेरै पीडित रहेकाले उनको विषयमा सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे।
कञ्चनपुरमा सीमानाका समस्या रहेकाले यस बारेमा प्रदेश सरकार र राष्ट्रपतिको कार्यालयलाई जानकारी गराउन पनि अहिराजले आग्रह गरे। प्रदश प्रमुख जोशी ८ महिना अघि मात्रै प्रदेश प्रमुखमा नियुक्त भएका हुन्।