काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताए ।
पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने बताए ।
अध्यक्ष दाहालले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले प्रमुख जितेका पालिकाहरूलाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रुणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै त्यसका लागि त्याग, तपस्या र मेहेनत गरेर काम गर्न निर्देशन दिए।
“हामीले विजय हासिल गरेका १२१ पलिकालाई समाजवादी सत्ताका भ्रुणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ । म तपाईँहरूलाई भन्न चाहन्छु, पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला, के गर्न उचित हुन्छ, सुझाव लिनुहोला । जनताबाट आलोचना र सुझाव निरन्तर प्राप्त हुने र त्यसको सुनुवाइ भइरहने कार्यक्रम बनाउनुहोला,” उनले भने ।
अध्यक्ष दाहालले निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्रले जितेको पालिकामा जनताको राय, सल्लाह लिएर निर्णय गर्ने गरेका छन् भन्ने पार्ने गरी काम गर्न निर्देशन दिए । माओवादी पार्टी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको उनको जिकिर छ ।