काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले सो कुरा बताएका हुन्।
उनले सरकार एकलौटी नभएकाले धेरै माग दाबी गर्न नमिल्ने पनि स्पष्ट पारे।
उनले भने, ‘यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईंहरूले धेरै दाबी गर्ने कुरा छैन। यो कुरा तपाईँहरूले बुझ्नुपर्यो । कतिपय तपाईँहरूले अति महत्त्वपूर्ण कुराहरू उठाउनुभएको छ। कतिपय बजेटमा आएका छन् । छैनन भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौँ।’
प्रधानमन्त्री देउवाले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूका लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ सङ्कल्पित रहेको बताए। नेपालको संविधान र कानुनले श्रमिकहरूको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्णरूपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने आश्वासन दिए।
देउवाले औपचारिक एवम् अनौपचारिक क्षेत्रका कर्मचारीलाई सुरक्षाको पहुँचमा ल्याउनु आवश्यक रहेको बताए।
प्रधानमन्त्री देउवाले श्रमिकको विषयमा ट्रेड युनियन कांग्रेस लगायतले उठाएको विषय सम्बोधन हुनेसमेत बताए। उनले भने, ‘संविधानले मौलिक हकमै उचित पारिश्रमिक र सामाजिक सेवा सुविधा उपलब्ध गर्ने सुनिश्चित गरेको छ। आर्थिक विपन्नका लागि ऐनले जुन सुरक्षा योजना ल्यायो त्यही अनुसार औपचारिक, अनौपचारिक दुवै क्षेत्रका कर्मचारीलाई सुरक्षाको पहुँचमा ल्याउन आवश्यक छ।’
उनले राष्ट्रसेवक कर्मचारीको सेवा वृद्धिले कर्मचारी थप लाभान्वित हुने विश्रवास व्यक्त गरे।