इटहरी । प्रदेश १ को नामकरण टुंगो लगाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ ।
नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले यसैपटक नामको टुंगो गरेर जानेगरी कांग्रेस र एमालेबीच सहमति भएको हो ।
‘यो नाम, उ नाम भन्ने केही पनि सहमति भएको होइन, यसैपटक प्रदेशको नामकरण टुंगो लाग्नुपर्छ भन्ने सन्र्दभमा सहमति भएको छ’ कोइरालाले भने,‘एकपटक सदनमा छलफल हुनुपर्छ, नामको विषयमा घनिभूत छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ भन्ने निचोडमा छौँ ।’
उनले नाम के राख्ने भन्ने सन्र्दभमा भने सदनबाटै पारित हुने बताए ।
कांग्रेस र एमालेको छलफलले दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएको एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक समेत रहेका हिक्मत कार्कीले बताए ।
उनका अनुसार नामकरणको टुंगो लगाउन कांग्रेस र एमाले सहमत भएकाले यसै अधिवेशनले नामकरण टुंगो लगाउनेछ ।