धनगढी । भारतबाट फर्किँदै गरेका युवकको शंकास्पद मृत्युपछि तीन जना पक्राउ परेका छन् । अछामको चौरपाटी गाउँपालिका १ सिउडीका ३५ वर्षीय धनबहादुर शाहको आइतबार धनगढीमा मृत्यु भएपछि उनीसँगै रहेका अन्य तीन जनालाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको हो ।
अछाममै घर भएका पदमबहादुर साउँदलाई अछाम प्रहरीले पक्राउ गरी धनगढी पठाएको छ भने खडकबहादुर शाह र कृष्णबहादुर शाहलाई कैलाली प्रहरीले धनगढीमै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।
मृतक शाहसहित चारै जना चोरी प्रकरणमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रवक्ता जोशीका अनुसार धनगढी आइपुग्दा शाह विरामी परेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई अर्को अस्पताल मायामेट्रोमा उपचार गरि पहाड हिँडेको खुल्न आएको छ ।
भारतबाट चोरी गरेर आएको प्रारम्भिक जानकारी अनुसार उनीहरुबीच आपसमा झगडा भएर मृत्यु भएको हो कि भन्ने आशंकामा साथमा रहेकाहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता जोशीको भनाइ छ ।प्रहरीका अनुसार मृतक शाहका आफन्तले भने भारतबाट फर्किँदा उनीहरुले गरगहना र नगद चोरी ल्याएको र भागवण्डामा कुरा नमिलेपछि सँगै रहेकाहरुले हत्या गरेको दाबीसहित कार्यालयमा जाहेरी दिएका छन् ।
मृतकको शरीरमा घाउचोट भने नदेखिएको प्रहरीले जनाएको छ ।पोष्टमार्टमका लागि शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्टपछि धेरै कुरा थाहा हुनसक्ने प्रवक्ता जोशीले बताए ।