काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ।
आइतबार साँझ ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका श्रेष्ठले त्यहाँ झण्डै साढे २ घण्टा विताए।
पछिल्लो समय श्रेष्ठ गठबन्धनप्रति असन्तुष्ट छन्। जसका कारण श्रेष्ठ–ओली भेटलाई धेरैले अर्थपूर्ण रुपमा हेरिरहेका छन्।
एमसीसी पारितपछि असन्तुष्ट श्रेष्ठ माओवादी परित्याग गरेर एमाले प्रवेश हल्ला पनि चलेको थियो। तर, पार्टी परित्याग र प्रवेशबारे केही पनि त्यहाँ छलफल नभएको श्रेष्ठनिकट स्रोतको दाबी छ।
स्रोतका अनुसार उक्त छलफल वाम गठबन्धनमा केन्द्रित थियो। वर्तमान गठबन्धन सरकार चीनलाई चिढ्याउँदै अमेरिकातर्फ ढल्किएको भन्दै श्रेष्ठले ओलीसमक्ष वाम गठबन्धनको प्रस्ताव गरेको स्रोतको दाबी छ।
राजनीतिक परिस्थिति, भूराजनीतिको बारेमा पनि सो क्रममा छलफल भएको थियो।
स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएसँगै नेकपा एमाले र माओवादी केन्द्र नजिकिन प्रयास थालेका छन्। वाम गठबन्धन र चुनावी तालमेलबारे यसअघि श्रेष्ठ र एमालेका पोलिटब्युरो गोकुल बास्कोटा तथा एमाले सचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच भेट भइसकेको छ।
दोस्रो तहका नेताहरुबीच वाम गठबन्धन र चुनावी तालमेलबारे विभिन्न चरणमा छलफल भए पनि एमाले र माओवादीबीच सम्बन्धसुधारको प्रयासअन्तर्गत श्रेष्ठले ओलीलाई भेटेको बताइएको छ।