काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको छ।
उक्त मुद्दामा सोमबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। तर, बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्दै असार ५ गते सुनुवाई हुने भएको छ।
धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो।
एआईजी विश्वराज पोखरेलले सरकारले ज्येष्ठतालाई मिचेर प्रहरी महानिरीक्षकमा कनिष्ठ सिंहलाई नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए।