काठमाडौं। लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले वलीलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान भइरहेको बताए।
प्रहरी स्रोतका अनुसार वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेतको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा गएकी थिइन्।

घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत हातपात गरेको आरोप लागेको छ।
उनी नेकपा माओवादी केन्द्रबाट सांसद हुन्। उनी दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।
०७४ मा यो क्षेत्रबाट नेकपा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचन गर्दा उनकी पत्नी बिमला यहाँबाट निर्वाचित भएकी हुन्। तत्कालीन नेकपा विघटन भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि बिमलाले माओवादी पार्टी रोजेकी थिइन्।