काठमाडौं। सामूहिक बलात्कार आरोपमा ४ जना पक्राउ परेका छन्।
महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी वृत्त बौद्धले गेष्टहाउस सञ्चालकसहित ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र गेष्टहाउस सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले पालैपालो युवतीमाथि जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए।
प्रहरीले पीडित युवतीलाई होटलबाट उद्धार गरी प्रसूतिगृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको छ। पक्राउ परेका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।