काठमाडौं। सोमबार राति काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा स्टाटस लेखेः ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो।’
स्टासस मात्रै लेखेका उनले अन्य कारण खुलाएका थिएनन्। जसका कारण सोमबार हेटौंडामा के भएको थियो? काठमाडौं महानगरलाई गाली गर्नकै लागि बागमती प्रदेशले कार्यक्रम आयोजना गरेको थियो? लगायतका अनेक प्रश्न आम नागरिकको मनमा उठेका छन्।
उनको स्टाटसमा पनि धेरैले यी र यस्तै प्रश्न उठाउँदै कमेन्ट गरेका छन्।
वास्तवमा सोमबार हेटौंडामा के भएको थियो त ?
हेटौंडामा बागमती प्रदेश सरकारले प्रदेशका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम राखेको थियो।
उक्त कार्यक्रममा वाग्मतीका आर्थिक माामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले काठमाडौंको फोहोर काठमाडौंमै व्यवस्थापन गर्नुपर्ने तथा नुवाकोट र धादिङमा विसर्जन गर्न नहुने बताएका थिए।
तर, कार्यक्रममा पुगेका बालेनलाई कार्यक्रममा पुगेकाहरुले फोटो खिचाउन घेरिहाले। उनीसँग धेरैजना फोटो खिचाउन इच्छुक देखिएपछि उनलाई भ्याइ नभ्याइ भयो।
उक्त कार्यक्रमबारे बालेनले स्पष्टीकारण पनि दिएका छन्। उनले प्रश्न गर्दै भनेका छन्, ‘मलाई व्यक्तिगतरुपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौंसँग र काठमाडौंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र उर्जा खर्चिने ? मेरो प्रश्न यति हो।’ उनले काठमाडौंलाई के गाली गरियो भन्ने खुलाएका छैनन्।
उनले गाली गरिराख्ने तर मौका पाउँदा पनि केहि नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर कार्यक्रम छोडेको बताएका छन्।
उनले अगाडि भने, ‘गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरुको सुन्ने छु। अथवा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरुमा सुन्ने छु । धन्यवाद।’