दाङ। तुलसीपुरमा महिला र बालिकालाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको छ।
तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेकी वलीलाई थप अनुसन्धानका लागि दिउँसो जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको हो।
सम्बन्धित समाचारः
‘प्रेमी’को घर पुगेर कुटपिटमा उत्रिएकी लुम्बिनीकी राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा
‘प्रेमी’को घर पुगेर कुटपिटमा उत्रिएकी लुम्बिनीकी राज्यमन्त्री वलीविरुद्ध नाराबाजी
डिएसपी नेतृत्वमा रहेको इलाका प्रहरी कार्यालयमा अहिले डिएपसी नरहेकाले थप अनुसन्धानका लागि राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।
प्रहरी प्रमुख काफ्लेका अनुसार राज्यमन्त्री वलीले हातपात गरेको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानपछि कारवाही प्रक्रिया अघि बढाइनेछ। राज्यमन्त्री वलीले मङ्गलबार बिहान तुलसीपुर–५ आलुमण्डीस्थित एकराज बस्नेतीका श्रीमती र छोरीलाई हातपात गरेको आरोपमा बिहान पक्राउ गरेको थियो।
जाहेरी
वलीबिरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ। विमलाले घरको बेडरुममै गएर आफू र छोरीलाई कुटपीट गरेको भन्दै मिना भण्डारी बस्नेतले इप्रका तुलसीपुरमा किटानी जाहेरी दिएकी हुन्।
उनी नेकपा माओवादी केन्द्रबाट सांसद हुन्। उनी दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।
०७४ मा यो क्षेत्रबाट नेकपा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचन गर्दा उनकी पत्नी बिमला यहाँबाट निर्वाचित भएकी हुन्। तत्कालीन नेकपा विघटन भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि बिमलाले माओवादी पार्टी रोजेकी थिइन्।