काठमाडौं । निहारिका राजपूतका दुई समर्थकले अनसन तोडेका छन् । काठमाडौंको बसन्तपुर डबलीमा बलात्कार पीडित राजपूतको न्यायका लागि अनसन बसेका जस्मिन ओझा र देव शर्माले अनसन तोडेका हुन्।
महिला आयोगका अधिकारीहरु, मोहना अन्सारी, विद्यार्थी नेताहरु माधव ढुंगेल, नविना लामालगायतको आग्रहमा आफूहरुले अनसन तोडेको जस्मिनले बताइन्।
२०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा निहारिकामाथि धनुषाको क्षिरेश्वर नगरपालिका-३ बस्ने शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको आरोप छ। आफूमाथि बलात्कार गर्नेलाई अदालतले सफाइ दिएको भन्दै उनी न्याय माग्दै अनसन बसेकी हुन्।