धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट चालू आर्थिक वर्षको तुलनामा आकार बढाएर ल्याउँदैछ ।प्रदेश सरकारले चालू वर्षकोभन्दा बढी बजेट ल्याउने तयारी गरेको हो ।
आज अपराह्न ४ बजे प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
आगामी आर्थिक वर्षको बजेट ३३ देखि ३५ अर्बको बिचमा रहने आर्थिक मामिला तथा योजनान्त्री प्रकाशबहादुर रावलले जानकारी दिए । प्रदेश सरकारले प्राप्त गर्ने अनुदान बढेकाले चालू आर्थिक वर्षको तुलनामा आकार बढाएर बजेट ल्याइने उनले बताए ।
मन्त्री रावलका अनुसार कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य बजेटको मुख्य प्राथमिकतामा परेको छ । यसैगरी, प्राकृतिक विपद्मा परेकालाई राहत दिने खालको कार्यक्रम पनि प्राथमिकतासाथ बजेटमा समेटिने उनले बताए ।
सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो जस्ता प्राकृतिक विपद्ले बढी मान्छे प्रभावित हुँदै आएका छन् । गतवर्ष बर्खा याममा र कात्तिकमा बाढी, पहिरोमा परी सुदूरपश्चिममा सबैभन्दा बढीले ज्यान गुमाएका थिए । वर्षभरि प्राकृतिक विपद्मा परेर ५५ जनाको ज्यान गएको थियो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटका आधारको रुपमा प्रदेश सभामा विनियोजन विधेयक र नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । त्यहि विनियोजन विधेयक र नीति तथा कार्यक्रमलाई केन्द्र बनाएर बजेट आउने मन्त्रालयका प्रवक्तासमेत रहेका उपसचिव तुल्सीप्रसाद भट्टराईले बताए ।
मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्व सरकारको यो अन्तिम बजेट हो । यो सरकारको पाँच वर्षे कार्यकाल मङ्सिरमा पूरा हुँदैछ ।