काठमाडौं। विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आफू राप्रपा प्रवेश गर्न लागेको भनेर प्रकाशित समाचार झुटा रहेको बताएका छन्।
बुधबार केही पत्रिकामा मिश्र राप्रपा प्रवेशको अन्तिम तयारीमा रहेको समाचार प्रकाशित भएपछि उनले स्पष्टीकरण दिँदै त्यसमा सत्यता नरहेको बताएका छन्।
देशलाई शीरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव रहेको र देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा त्यो ‘स्पेस’ पुरै खाली रहेको उनले उल्लेख गरेका छन्।
जतिसुकै विकशित भए पनि हरेक देशमा अर्थ–राजनीतिकरूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक–सामाजिकरूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुने गरेको उल्लेख गर्दै उनले नेपालमा अहिले त्यस्तो पार्टीसमेत नरहेको दाबी गरेका छन्।
उनले समाज र राजनीतिलाई सन्तुलनमा राख्न र देशलाई बढ्दो भूराजनीतिक भूमरीबाट जोगाउन ‘राष्ट्रियता’को जगमा एउटा रूपान्तरणकारी शक्ति निर्माणका लागि पहिलेदेखि नै एकीकरण÷ध्रुवीकरणको पक्षमा भएको कुरा आफूले नलुकाएको उनको भनाइ छ।
उनले भनेका छन्, म एक्लै कतै जोडिएर त्यो संभव छैन तर सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि सम्मिलन÷एकीकरण÷ध्रुवीकरणमा भने मेरो चासो कायमै रहने छ। अनुमान र एक पक्षीय रूपमा दिइएको सूचनाको भरमा समाचार प्रकाशित नगरिदिन विनम्र अनुरोध गर्दछु।’