काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सैन्य सम्झौता नगर्न चेतावनी दिएको छ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीपकुमार ज्ञवालीले एसपीपी सैन्य सम्झौता नगर्न सरकारलाई चेतावनी दिए।
उनले एसपीपी सम्झौता गर्ने समाचार सार्वजनिक भएपछि नेपाली समाज चिन्तित, त्रसित र गम्भीर रुपले आशंकित भएको बताए।
उनले नेपाललाई भू–राजनीतिक द्धन्द्धमा फस्न नदिने र स्वीकार्य नहुने बताए । उनले परराष्ट्र नीतिमा गम्भीर विचलन आएको भन्दै चिन्ता व्यक्त गरे।
त्यस्तै, कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई एसपीपी सम्झौताबारे स्पष्ट पार्न माग गरेका छन्।
यो विषय सरकारसँग सम्बन्धित रहेकोले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री देउवाले तत्काल एसपीपी सम्झौताबारे स्पष्ट पार्नुपर्ने माग गरे।
उनले कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने बताए। थापाले एसपीपीबारे आपत्ति जनाउँदै नेपालको संविधानले यस्तो खाले सम्झौता गर्न छुट नदिने उल्लेख गरे।
उनले भने, ‘हामीले केही समय अगाडि एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्यौँ। यस्ता विकास आयोजना हामीले अमेरिकाबाट लिने हो, चीनबाट लिने हो, भारतबाट पनि लिने हो। मुलुकलाई समृद्ध पार्ने हो। ‘तर नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा चाहे त्यो छिमेकी देशसँग होस् वा अर्को देशसँग होस् त्यो सम्झौता अघि बढ्दैन। त्यस्तो सम्झौता हुन सक्दैन, हुन दिइँदैन।’
तर, मंगलबार साँझ अमेरिकी दुतावासले एक विज्ञप्ति जारी गदै नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबीसहित सञ्चारमाध्यममा प्रकाशित टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को मस्यौदामा सत्यता नरहेको दाबी गरेको थियो।