काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।
बुधबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो।
सो क्रममा अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सैन्य सम्झौताबारे छलफल भएको छ। गठबन्धनका नेताहरुले प्रधानमन्त्री देउवालाई उक्त सम्झौता नगर्न सुझाव दिए।
प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न सुझाएका थिए।
जवाफमा देउवाले राष्ट्र हितविपरीतका काम नगर्ने र राष्ट्रको शिर निहुर्याउने गरि कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिवद्धता जनाए।
बालुवाटार बैठकपछि पार्टीका कमिटी बैठकमा नेपालले राष्ट्रिय हितविपरीतको कुनै सम्झौतामा हस्ताक्षर गरिदैँन भनेर देउवाले आश्वासन दिएको ब्रिफिङ गरेका छन्।
यससँगै तत्काल यो सम्झौतामा हस्ताक्षर नगर्ने सहमतिमा गठबन्धनका शिर्ष नेता सहमतिमा पुगेको बालुवाटार स्रोतको दाबी छ।
देउवाको छिट्टै हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको बताइएको थियो। त्यसका लागि सम्झौताको मस्यौदा अमेरिकाले नेपाली सेना, सरकार र राष्ट्रपति कार्यालयलाई बुझाइसकेको थियो। एसपीपीमा सरकारले सम्झौता गर्न लागेको थाहा पाएपछि त्यसको सर्वत्र विरोध हुँदै आएको छ।
एसपीपी सम्झौता नगर्न एमालेको चेतावनी दिएको छ भने कांग्रेसकै सांसद गगनकुमार थापाले एसपीपीबारे देउवाको जवाफ मागेका छन्।
सम्बन्धित समाचारः
एसपीपी सम्झौता नगर्न एमालेको चेतावनी, गगनले मागे देउवासँग जवाफ
यता, कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल सरकारको एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन्।
सम्बन्धित समाचारः
एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छैनः कानूनमन्त्री कोइराला
यसअघि मंगलबार साँझ अमेरिकी दुतावासले एक विज्ञप्ति जारी गदै नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबीसहित सञ्चारमाध्यममा प्रकाशित टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को मस्यौदामा सत्यता नरहेको दाबी गरेको थियो।