काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउनुपर्ने बताएकी छन्।
लोकसेवा आयोगको ७२ औं वार्षिकोत्सवको अवसरमा बुधबार केन्द्रीय कार्यालय कमलपोखरीमा आयोजित कार्यक्रममा उनले आयोगको निष्पक्षता र विश्वसनीयताले नागरिकस्तरमा उदाहरण स्थापित गर्न सफल भएको बताइन्।
राषट्रपति भण्डारीले विज्ञान र प्रविधिको विकाससँगै जनसम्बोधनका लागि आयोगले अनलाइन एपसँग जोड्ने कार्यले सेवाहरु सरल र सहज ढंगबाट प्राप्त हुने अपेक्षा व्यक्त गरिन्।
मुलुकको स्थायी सरकारको रुपमा रहेको आयोगले निजामति सेवाका लागि योग्य, दक्ष एवम् उपयुक्त उम्मेद्वार छनोट गर्ने जिम्मेवारी पाएको भन्दै उनले दक्ष जनशक्ति विकासका लागि अभिमुखीकरण र उम्मेद्वार छनोट प्रणालीमा समय सापेक्ष सुधार गर्नुपर्नेमा जोड दिइन्।