काठमाडौं। प्रेमीको घरमा महिला र बालिका कुटपिटको आरोप लागेकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको विषयमा छानविन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल बनाएको छ।
घटनाबारे सत्यतथ्य छानबिन गर्न प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन्।
राज्यमन्त्री वलीले मङ्गलबार बिहान तुलसीपुर–५ आलुमण्डीस्थित एकराज बस्नेतीका श्रीमती र छोरीलाई हातपात गरेको आरोपमा बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो। एकराजकी पत्नीले पनि आफू र छोरीलाई वलीले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।
उनलाई दाङबाट बुटवल ल्याएर बुधबार लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। उपचारको क्रममा वलीमा प्रेसर र सुगर पनि देखिएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए।