काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा भएको आरोप लगाएका छन्।
रितवहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार बिहान पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सो आरोप लगाएका हुन्।
उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०१९ सालमा उक्त सम्झौता गरेको थियो। बरु, यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली सरकारले गरिसकेको तथ्य इतिहासमा छ।’
वर्तमान सरकारले एसपीपी सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो प्रचार भइरहेको उनले बताए। उनले यो सम्झौता कुनै पनि हालतमा नहुने दावी गरे।
प्रचण्डले भने, ‘अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ। हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दैछन्, त्याचे बिल्कुल झुटो हो। गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भाएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।’