काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला नै नेपाली सेनाले अमेरिकासँग स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन पत्राचार गरेको खुलेको छ।
सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई एसपीपी मा सहभागी हुन पत्राचार गरेको खुलेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको करिब १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको थियो। ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री नियुक्त भएका थिए।
उक्त पत्रको बुँदा नम्बर १ मा नेपाल एसपीपी कार्यक्रममा निकट भविष्य नै सामेल हुन इच्छुक रहेको उल्लेख छ।
त्यस्तै, यस कार्यक्रममा सहभागी हुँदा यसले दीर्घकालीन तथा दुई पक्षलाई नै फाइदा पुग्ने गरी सुरक्षा सम्बन्ध मजबुत हुनुका साथै सैन्य कुशलता तथा अनुभव आदानप्रदानमा सहयोग पुग्ने तथा सुरक्षा ज्ञान आदानप्रदान गर्न मद्दत पुग्नुका साथै सुरक्षा समन्वयमा थप क्षमता वृद्धि हुने, दुवै पक्षको चाहना रहेको प्रकोप प्रतिकार्य तयारी तथा व्यवस्थापन, वायुसेवा पूर्वाधार व्यवस्थापन र सुरक्षा आदानप्रदान र संवेदनशील पूर्वाधार विकासका साथै नेपाली सेनाका अधिकारीहरुको व्यावसायिकरण र विकासमा सहयोग पुग्ने उल्लेख छ।
नेपाली सेना यस कार्यक्रमका लागि तत्पर रहेको हुँदा नेपालस्थित अमेरिकी दूतावासलाई उच्च प्राथमिकता दिन पत्रमा आग्रह गरिएको छ।
तर, नेपाली सेनाले बिहीबार विज्ञप्ति जारी गर्दै ‘एसपीपी’ सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेनासँग वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको जनाएको थियो।
सम्बन्धित समाचारः
नेपाली सेनाले भन्यो, ‘एसपीपीसम्बन्धी कुनै सम्झौता वा साझदारी गरेका छैनौं’