कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सो विश्वविद्यालयमा यसै वर्षबाट चिकित्सा संकायको अध्यापन सुरु हुने बताएका छन् । विश्वविद्यालयको शुक्रबार आयोजित दोस्रो दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन ।
उनले यसै वर्षदेखि विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाइने बताए । प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ ।’
उनले सुदूरपश्चिम विश्वविद्यालयले गुणस्तरीय जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।यसैगरी, विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए ।
प्रधानमन्त्री देउवाले आउँदा दिनमा सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक र व्यवस्थापकीय पक्षमा अझ सुधार हुने विश्वास व्यक्त गरे । दीक्षान्त समारोहमा दिक्षित हुने एक हजार १८ विद्यार्थीमध्ये ३१८ जना सहभागी भएका थिए ।
स्नातकोत्तर तहमा कुलपति पदक ४ जना, स्नातक तहमा उप कुलपति पदक ८ जना सहित स्नातक र स्नातकोत्तर तह गरी ५८ जना गोल्ड मेडल पाएका छन । समारोहमा शिक्षामन्त्री देबेन्द्र पौडेल ,मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत सहभागी थिए ।