धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाइने बताएका छन्।
धनगढी उमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको शनिबार उद्घाटन गर्दै उनले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउने बताएका हुन्। ‘गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग आउँदा खुशी लागेको छ’, उनले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय गरी आवश्यक ऐन, कार्यविधि बनाएर यसलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौं।’
भवन उद्घाटन सभामा उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री समक्ष माग राखेका थिए। सोही सभामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने विषय उल्लेख गरे। यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक देखिएका हुन्।
कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा सो कलेजको भौतिक संरचना बनेको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा अहिले धेरै विकास भइसकेको र अझ धेरै गर्न बाँकी रहेको प्रधानमन्त्री देउवाको भनाइ छ। एनले भने, ‘पहिले केही थिएन। म एसएलसी दिइसकेपछि डडेल्धुराबाट धनगढी आउँदा केही थिएन। गौरीफन्टा नाका हुँदै मैलानी–लखनऊ–रक्सौलसम्म रेल चढेर त्यसपछि बसमा काठमाडौं पुगेको हुँ। अहिले हरेक दिन हवाईजहाज चलिरहेको छ। धनगढीबाट सिधै काठमाण्डौं पुग्न सकिन्छ।’
प्रधानमन्त्री देउवाले सबैका सहकार्यमामात्रै मुलुकमा विकासको काम सम्भव हुने उल्लेख गरे।