काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यवृद्वि विरुद्ध निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आह्वान गरेको छ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मुल्यवृद्वि विरुद्ध निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आह्वान गरेकी हुन्।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखेर गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु माग गरेको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसंगै गरीब जनताको चुलो बल्ने अवस्था नरहेको र अतिआवश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिने निश्चित रहेको विज्ञप्तिमा उल्लेख छ।
पेट्रोलियम पदार्थको मुल्यवृद्वि विरुद्ध अनेरास्ववियुले आज साँझ ५ बजे त्रिचन्द्र कलेजमा विरोद प्रदर्शन गर्दैछ।
नेपाल आयल निगमले आइतबार पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य वृद्धि गरेको छ। जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु. १९९, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु. १९२ पुगेको छ।