काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्। बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागे गरेका थिए। त्यसपछि सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्।
उनले भने, ‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ। सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु। यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु।’
बैठकमा बोल्दै एमाले सांसद पद्माकुमारी अर्यालले छोटो समयमा पटकपटक मूल्यवृद्धि गरिएको बताएकी थिइन्। उनले मूल्यवृद्धिको कारण मन्त्रीले संसदमा जानकारी गराउनुपर्ने माग गरेकी थिइन्। उनले बोलेर सकेपछि एमाले सांसदहरू आफू बसेको ठाउँबाट उभिएका थिए।
नेपाल आयल निगमले आइतबार पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य वृद्धि गरेको थियो। जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु. १९९, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु. १९२ पुगेको छ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँग गाडी भाडा पनि बढेको छ।