काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी र पालिटब्यूरोको बैठक बस्ने भएको छ। आगामी असार १० र ११ गते बैठक बस्ने कार्यसूची रहेको केन्द्रीय प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए।
बैठकमा गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ। खतिवडाका अनुसार १० गते पोलिटब्यूरो र ११ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको हो।
बैठकले आगामी संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि छलफल गर्नेछ। प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन आवश्यक रणनीतिबारे छलफल हुने उनले बताए।
बैठकले यसअघि बसेको स्थायी कमिटीको बैठकका निर्णय अनुमोदन गर्नेछ।त्यस्तै, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बस्नेछ।