जुम्ला। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका कम्युनिष्टबीच आवश्यकता पहिचान गरी भविष्यमा एकता हुन सक्ने बताएका छन्।
मुलुकको आर्थिक समृद्धि र राजनीतिक निकासका लागि भविष्यमा सबै कम्युनिष्ट एकै ठाउँमा आएर एकता हुन सक्ने उनले बताए।
कर्णाली प्रदेशको जुम्लामा पुगेका महासचिव विप्लवले पत्रकार भेटघाटमा पश्चगामी नभई अबको नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिस्ट एकता हुन सक्ने ढोका खुला रहेकोमा जोड दिए।
चन्दले राष्ट्रिय परिस्थितिको विषयको बारे जानकारी गराउँदै अहिले देशको राष्ट्रिय स्वाधीनता जोखिम भएकोमा चिन्ता व्यक्त गरे।
उनले अमेरिकाले सहयोग अनुदान दिएको एमसीसी र त्यसैसँग जोडिएको एसपीपी नेपालका लागि किमार्थ स्वीकार नहुने उल्लेख गरे।
आफ्नो पार्टीमा पनि केही समस्या आएको बताउँदै देशभर कार्यकर्तालाई स्पष्ट पार्न राजनैतिक प्रशिक्षण र जनता भेटघाट गर्न अहिलेको यात्रा रहेको भन्दै असोजमा नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन हुने जानकारी समेत दिए।