काठमाडौं। प्रतिनिधिसभाका सांसदले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीम रावलले नेपाल सरकारले सोमबार अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेकामा धन्यवाद दिँदै प्रधानमन्त्रीले सदनमा यसबारेमा थप स्पष्ट पार्नुपर्ने आग्रह गरे।
बैठकमा सांसद सञ्जयकुमार गौतमले केही नेताहरुले उग्रराष्ट्रवादका नाममा संसद्मा के के बोल्न थालेको बताउँदै यस्ता कुरा जनताले नबुझ्ने भएकाले जनजीविकाका विषयमा आवाज उठाउन आग्रह गरे।
सांसद हरिराज अधिकारीले सरकारको एसपीपी अघि नबढाउने निर्णयको स्वागत गरे।
सांसद दिव्यमणि राजभण्डारीले एसपीपी अघि नबढाउने नेपाल सरकारको निर्णय स्वागतयोग्य भएको बताउँदै यस निर्णयबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राष्ट्रपे्रमी छवि बढेको बताए
साथै आगामी दिनमा पत्राचार गर्दा परराष्ट्रमार्फत मात्र गर्नुपर्ने नेपाल सरकारको निर्णय पनि स्वागत भएको उनको भनाइ छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो।
सम्बन्धित समाचारः
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय (सूचीसहित)