ललितपुर। ललितपुर महानगरपालिकाको सडकमा रहेका घाइते जनावरको उपचारका लागि एम्बुलेन्स सेवा सुरु भएको छ।
महानगरले बुधबार एक कार्यक्रममार्फत जनावरको अधिकारको संस्था स्नेहाज केयरसँगको सहकार्यमा सो सेवा सुरु भएको जनाएको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले एम्बुलेन्सको साँचो स्नेहाज केयरका प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरे।
श्रेष्ठले विभिन्न कारणले घाइते जनावरलाई अस्पताल पुर्याउन सहयोग पुग्ने उद्देश्यका साथ एम्बुलेन्स सेवा सुरु गरिएको बताए। उनले भने, ‘हामी जनावरको अधिकारप्रति संवेदनशील छौं, सडकपेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदोरहेछ, त्यसैले व्यवस्था गरेको हौं।’
श्रेष्ठले जनावरको अधिकारप्रति संवेदशील भएकोमा महानगरलाई धन्यवाद दिए। महानगरका अनुसार उक्त एम्बुलेन्स ४० लाखमा खरिद गरिएको हो।
महानगरले कोरोनाका कारण लकडाउन भएका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो।