काठमाडौं। एकीकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय कार्यान्वयन गर्ने माग गरेको छ।
आज बसेको उक्त पार्टीको सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय कार्यान्वयन गर्न माग गरेको हो। बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ।
बैठकपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेर गर्ने निर्णय तुरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको जानकारी दिए।
उनले भने, ‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन, तुरुन्त कार्यान्वयन गर्नुपर्यो भनेर निर्णय गरेका छौं। आज हाम्रो अध्यक्ष माधव नेपाल त्यही निर्णयलाई लिएर कुराकानी गर्न जानुभएको छ।’
एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर ती ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरे पनि कार्यान्वयन भएको छैन।