काठमाडौं। अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ९२० जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएको तालिबान सरकारका अधिकारीहरूले बताएका छन्।
विपद् व्यवस्थापन हेर्ने सहायक मन्त्री शरफुद्दिन मुस्लिमले एउटा पत्रकार सम्मेलनमा कम्तीमा ९२० जनाको मृत्यु भएको र थप ६०० जना घाइते भएको बताए।
पाक्तिका प्रान्तबाट प्राप्त तस्बिरहरूमा पहिरो गएको र कच्ची घरहरू भत्किएको देखिन्छ। उद्धारकर्ताहरू त्यहाँ घाइतेको उपचारमा दौडधुप गरिरहेका छन्।सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूबाट घाइते ओसारिएको देखिएको थियो।
दुर्गम स्थानहरूमा हेलिकप्टर प्रयोग गरेर घाइतेहरूलाई अस्पताल लगिएको छ। तालिबान नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौँ घरहरू भत्किएको र मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्।
भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ। मध्यरातपछि भूकम्प आएको बेला धेरै मानिसहरू सुतिरहेका थिए।
अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर भित्र गएको थियो।
केन्द्रबिन्दुभन्दा ५०० किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ। अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ।