काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन् ।
बिहीबार ललितपुरमा स्थानीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण भेलामा अहिलेको अवस्थामा पनि आफ्नो पार्टीले एक सय २२ पालिका जित्नु ठूलो कुरा भएको उनले बताए । यो जनमत नै देशको राजनीतिको बागडोर कता लैजाने भन्ने चाबी भएको उनको भनाइ छ ।
‘हाम्रो पार्टीले सोचेजस्तो परिणाम आएन । कम्तीमा पनि ठीक ढंगले जाँदा एक सय ७० र एक सय ७५ आउँछ । एमाले एक सय ६०–७० मा झर्छ भन्ने सोचेका थियौं । हामीले आँकलन गरेको जति आएन । त्यही भएर ठूलो कम्युनिस्ट पार्टी बन्न सफल भएनौँ । एक सय २२ पालिका जित्यौँ । यो भनेको पनि धेरै हो । केही परिवर्तन विरोधी र बुर्जुवाहरूले माओवादीको यत्रो आयो भन्ने ठानेका छन्,’ प्रचण्डले भने, ‘जे भए पनि हाम्रो स्थिति निर्णायक हो ।
प्रचण्डले ठूलो आन्दोलनको बलमा प्रतिगमनको प्रवृत्ति पराजित भर संसद् पुनर्स्थापना भएकोसमेत बताए ।
प्रचण्डले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गरे। उनले भने, ‘स्थानीय तह निर्वाचनमा वामपन्थीभित्रको पहिलो शक्ति हुने सम्भावना थियो, २०७४ को निर्वाचनमा जितेका पालिका यसपटक गुमायौँ। सङ्घ र प्रदेशमा वामपन्थीभित्र पहिलो शक्ति हुने सम्भावना छ, त्यसका लागि आजैदेखि मेहनत गर्नुस्।’
अध्यक्ष प्रचण्डले आगामी साउन १५ गतेभित्र आसन्न सङ्घ र प्रदेश निर्वाचनका उम्मेदवार टुङ्ग्याइने बताए। लोकप्रिय र जनताको पक्षका काम गर्नसक्ने नेतालाई निर्वाचनमा उम्मेदवार बनाइने उउनले बताए।