काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भोलि शनिबार साँझसम्म अहिलेका मन्त्रीहरु घर जाने दाबी गरेका छन्।
शुक्रबार बसेको पार्टी पोलिटव्युरो बैठकपछि पाण्डेले शनिबार साँझसम्म अहिलेका मन्त्रीहरु घर जाने र नयाँ आउने दाबी गरे।
६ महिनाका लागि भनेर निर्णय भएर मन्त्री बनाएकोले उक्त निर्णय कार्यान्वयन हुने बताए। आफूले बोलिसकेपछि मन्त्री फेरबदल हुनेमा शंका नगर्न उनले आग्रह गरे।
त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्री हेरफेरसम्बन्धी पार्टीको निर्णय कार्यान्वयन गर्न आफूले भूमिका खेल्ने बताए। आलेले पार्टीको निर्णय मान्न आफू बाधक नभएको प्रष्टीकरण दिए।
बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि पार्टीको निर्णय मान्दै राष्ट्रियसभाबाट बजेट पारित भएपछि राजीनामा दिने बताए।
सम्बन्धित समाचारः
मन्त्री फेर्ने निर्णयले समस्यामा समाजवादी, संसदीय दलको बैठक बोलाउन १० सांसदको माग (पत्रसहित)
समाजवादीका उपाध्यक्ष पाण्डेले शनिबार साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेपछि अझैं केहीदिन लाग्नेछ। स्रोतका अनुसार १२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ। १२ गतेको राष्ट्रियसभा बैठकमा बजेट पास हुने सम्भावना छ। मन्त्रीहरुले पनि राष्ट्रियसभा बैठकमा बजेट पासपछि राजीनामा दिने बताइरहेका छन्।
एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन। ४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका थिए।