पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७७ करोडको बजेट सार्वजनिक गरेको छ ।
महानगरपालिकाले शुक्रबार पोखरा सभागृहमा आयोजना गरेको ११ औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो ।
महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नगरसभामा बजेट प्रस्तुत गर्दै कार्यालयतर्फ कूल बजेटको १४.५७ प्रतिशत, सामाजिक विकासतर्फ कूल बजेटको २३.५७ प्रतिशत, शिक्षा तर्फ १७.०२ प्रतिशत, कृषि तर्फ १.९१ प्रतिशत, स्वास्थ्य तर्फ ४.५७ प्रतिशत, वडा कार्यालयतर्फ ८.२८ प्रतिशत र पूर्वाधार तर्फ ५१.६८ प्रतिशत बजेट विनियोजित गरेको जानकारी दिइन् ।
उनले कार्यालयतर्फ रु १ अर्ब २५ करोड ८७ लाख ५७ हजार, सामाजिक विकासतर्फ रु२ अर्ब ६ करोड ९२ लाख ३३ हजार, शिक्षा तर्फ १ अर्ब ४९ करोड ३६ लाख ६५ हजार, स्वास्थ्य तर्फ ५० करोड ५ लाख ८ हजार, कृषि तर्फ १६ करोड ७३ लाख ६५ हजार, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख र पूर्वाधार तर्फ रु ४ अर्ब ५३ करोड ७२ हजार बजेट छुट्याइएको बताइन् ।