काठमाडौं। पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन्।
शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि फलस्वरूप ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान(प्रतिनिधिसभा विघटन) नै ध्वस्त पारेको बताएका हुन्।
अध्यक्ष प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव र त्यसको जवाफमा प्रधानमन्त्रीले संसद् नै विघटन गर्नु कुनै हिसाबमा उचित नभएको गौतमले बताए।
गौतमले कम्युनिस्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको पनि बताए। वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकोले आत्मालोचना गरेको उनले बताए। त्यो बेला अध्यक्ष दाहालको समूहमा नगई बीचमा बसेर मध्यस्थता गर्न सकेको खण्डमा कुनै हालतमा पार्टी विभाजन नहुने उनले बताए।
गौतमले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताए। ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि दाहालले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको उनले बताए।
ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्ने अफर पुष्पकमल दाहाल प्रचण्ड समक्ष गरेको गौतमले खुलासा गरे। गौतमले दुई नेताबीच भएको भेटमा आफू पनि पुगेको र त्यहाँ ओलीले आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र उनैको नेतृत्वमा निर्वाचनमा जाने अफर गरेको बताए।