काठमाडौं। एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवाको ज्योतिष सुरेशचन्द्र रिजालको भविष्यवाणी मिलेको छ।
स्थानीय तहको चुनावअघि पूर्वप्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन असार १७ गतेपछि नटिक्ने भविष्यवाणी गरेका थिए। ओलीको भविष्यवाणीसँगै मिल्ने गरी शनिबार देउवाका ज्योतिष रिजालले पनि भविष्यवाणी गरेका छन्।
उनले असार ५ गतेबाट शनिदेखि सूर्य ग्रह बसेको राशिसम्म बन्दै आएको शक्तिशाली राजयोग क्रमशः असार ७ र १७ गते बाट भङ्ग हुने बताएका छन्।
शनि बसेको राशिबाट सूर्य ग्रह बसेको राशिसम्म क्रमशः आठ ओटै ग्रह एउटै लाईनमा बसेर एकअर्कालाई साथ र सहयोग हुँदै आएको महत्त्वपूर्ण योग भङ्ग हुँदा यसको असर समग्र सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमै नकारात्मक रुपमा प्रभाव पार्ने देखिएको रिजालले उल्लेख गरेका छन्।
उनले विशेष सावधानी अपनाउन नसके पुनः दल विभाजनको प्रक्रियातर्फ अगाडि बढ्न सक्नेसम्मको योग निर्माण भएको सचेत गराएका छन्।
यसको अर्थ दल विभाजन भएमा वर्तमान सत्ता गठबन्धन टुट्ने सम्भावना छ। हाल सत्तामा रहेको नेकपा एकीकृत समाजवादी र जसपामा विवाद छ। त्यसैतर्फ संकेत गर्दै रिजालले शक्तिशाली राजयोग क्रमश भङ्ग हुँदै गएको र सावधानी अपनाउन नसके पुनः दल विभाजनको प्रक्रियातर्फ अगाडि बढ्न सक्नेसम्मको योग निर्माण भएको बताएका हुन्।
ओली र रिजालले भविष्यवाणी गरेजस्तै असार १७ पछि सत्ता गठबन्धन टुट्छ कि टुट्दैन ? ज्योतिषको सल्लाह सुनेर देउवाले कस्तो कदम उठाउँलान् ? त्यसका लागि भने केही दिन पर्खिनैपर्ने हुन्छ।