काठमाडौं। नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गठबन्धन आवश्यक भएको बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनप्रति गुनासो भए पनि आवश्यक भएको बताएका हुन्।
स्थानीय तहको चुनावमा २७ प्रतिशत मात्रै उम्मेदवारी दिँदा ९ लाख मत प्राप्त गरेको, शतप्रतिशत क्षेत्रमा उम्मेदवारी दिएको भए २० लाख मत आउने बताउँदै आत्तिनुपर्ने कारण नरहेको दाबी गरे।
नेपालले एमालेका ‘१० भाइ’प्रति कडा शब्दमा आक्रोश पोखे। तत्कालीन केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि माधव नेपालको साथमा रहेका भनिएका र पछि पार्टी विभाजनका बेला चाहिँ एमालेमै रहेका १० केन्द्रीय कमिटी सदस्यहरुलाई नेपालले ‘दास’को संज्ञा दिए।
उनले भने, ‘अहिले म कथित १० भाइका अभिव्यक्ति सुन्दैछु। उनीहरु तथानाम बोलिरहेका, लेखिरहेका छन्। दासजसरी त्यहाँ बसिरहेका छन्, तर हामीप्रति धारेहात लगाउने दुःस्साहस गरिरहेका छन्। उनीहरुको कुनै मूल्य–मान्यता छैन, पदीय गरिमाको सम्मान पनि पाएका छैनन्।’
उनले बैठकमा विवाद हुन्छ भनेर कतिपय तर्किने गरेको सुन्नमा आएको समेत बताए। उनले भने, ‘अहिले हामी पार्टीको चौथो बैठक बसिरहेका छौँ। पार्टी विधानलाई ध्यानमा राखेर अगाडि बढेका छौँ। बैठकमा बस्दा विषयवस्तुमा छलफल गर्दा बहस विवाद हुन्छ। तर्क वितर्क हुन्छ। आत्तिनुपर्ने छैन। विवाद हुन्छ भन्ने कतिपय तर्किने गरेको सुन्नमा आएको छ। बैठक भनेको झ्याउ हो भनेर टार्ने गरेको विभिन्न स्तरमा रहेको सुन्नमा आएको छ। बैठक छल्नुपर्दैन।’
आफ्नो आफ्नो प्रदेश, जिल्ला, पालिका वडा तहसम्म निर्माण गरेको कमिटी र संगठन चलायमान बनाउन निर्देशन समेत दिए। कम्युनिष्ट पार्टीमा आलोचना र आत्मालोचना पद्धति स्थापित भएको समेत बताए।