काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टीको महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको अध्यक्ष नेपालले आफूहरूको शक्तिको अवमूल्यन गर्दै गठबन्धनका दल कांग्रेस र माओवादीले अपमान गर्दै धोका दिएको आरोप लगाए।
तर पुनः आफूहरूले समीक्षा गरेर एकपटकका लागि ‘भइहाल्यो’ भनेर भनेको उनले बताए। त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफूहरूको कमजोरी स्वीकारेको बताए।
नेपालले मुलुकमा २ वटा गठबन्धन रहेको बताए। उनले भने, ‘दुईवटा गठबन्धन छ। एउटा दक्षिणपन्थी र अर्काे वाम लोकतान्त्रिक। जसमा हामी वाम लोकतान्त्रिक हौँ भने केपी ओलीले दक्षिणपन्थीहरूको गठबन्धनको नेतृत्व गरेका छन्।’
उनले ओलीले एसपीपीलगायतका राष्ट्रघाती सम्झौता गर्न खोजेको टिप्पणी गरे। उनले देशव्यापीरूपमा आफ्नो पार्टी विस्तार भएको दाबी गरे।