काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन्।
उनले आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका हुन्। त्यसबारेमा आलेले केहीबेरमा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन्। आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए।
त्यस्तै, स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले पनि राजीनामा दिएका छन्। खापुङलाई राज्यमन्त्रीबाट मन्त्री बनाउने निर्णय पार्टीले गरिसकेको छ।
नेकपा एकीकृत समाजवादीले जेठ २२ गते नै आलेलगायतका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो।
आइतबार आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष नेपालले केही मन्त्रीहरूको राजीनामापत्र बोकेर हिँडेको भन्दै आजै नयाँ मन्त्रीको शपथ हुनसक्ने अभिव्यक्ति दिएका थिए।
तर, समाजवादीका सबै मन्त्रीले राजीनामा दिन्छन् वा दिँदैनन् खुलेको छैन। त्यसैले नयाँ मन्त्रीको शपथ ग्रहणको टुंगो लागेको छैन।