काठमाडौं। लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ।
गायिका सुनार काठमाडौंको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ। शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिबेला जे पनि हुनसक्छ भनेर स्टेटस सार्वजनिक भएको थियो।
उक्त स्टाटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ, तर स्टेटसभन्दा घटना प्रकृति निक्कै फरक रहेको र आत्महत्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि उक्त विषयलाई पुष्टि हुने देखिन्छ। उनले घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।
‘घटना शङ्कास्पद देखिएको छ, शव परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ’, मैनालीले भने। गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
मैनालीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा सिन्धुपाल्चोक साँगागढीचोकका सूर्य श्रेष्ठ भनिने खिलबहादुर श्रेष्ठ पक्राउ परेका छन्। उनले बउयानको क्रममा सुनारसँगै रक्सी खाएर सँगै सुतेको, हत्या नगरेको र कतिखेर आत्महत्या गरिन भन्ने थाहा नपाएको बयान दिएका छन्।
प्रहरी स्रोतले गायिका सुनारको हत्या आशङ्का गरेको छ। त्यसैले अहिले घटनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलेसमेत अनुसन्धान थालेको छ।
सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेका जनाइएको छ। पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ। गायिका सुनारसँग श्रेष्ठको सम्बन्ध रहेको र उनैले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
शनिबार बिहान काठमाडौंको नेपालटारस्थित उनको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ।
गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानविनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाव दिन थालेका छन्। उनीहरुले प्रहरीवृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाहीको माग गरेका छन्।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू सत्यतथ्य छानविनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिए। अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताए।
प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन। घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शङ्कास्पद बनाउन बल पुर्याएको छ। उनको सल पनि श्रेष्ठले भनेको स्थानमा भेटिएको छ।
गायिका सुनारको स्टेटसमा आफैंले घटना घटाएकाले कसैलाई दोष नदिन भनिए पनि त्यो दबावमा लेखिएको वा अरुले नै लेखिदिएको हुनसक्ने आशङ्का गरिएको छ। अध्यक्ष बिजीले भने, ‘मोबाइल नभेटिएकाले मृत्युपछि स्टाटस अरुले नै लेखेको पनि हुनसक्छ या मृत्यु अघि धम्क्याएर लेख्न लगाएको पनि हुनसक्छ त्यसबारे गम्भीर अनुसन्धान हुनु जरुरी छ।’
सुनार लाइभ तथा अनलाइन दोहोरीमा सक्रिय गायिका थिइन्। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले केही समय अघि काठमाडौंमा आयोजना गरेको छैठौँ खुला राष्ट्रिय रनिङशिल्ड लोकदोहोरी गीत प्रतियोगितामा सुनार उत्कृष्ट गायिका घोषित भएकी थिइन्।
गायिका सुनार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको सदस्य पनि थिइन्।