काठमाडौं। समाजवादीका नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबार पुगेर नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले पदभार ग्रहण गरेका हुन्। उनीहरुलाई सम्बन्धित मन्त्रालयका सचिवलगायतका कर्मचारीले स्वागत गरे।
आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्री नियुक्त गरेकी थिइन्।
एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको थियो।
पदभार ग्रहण गर्दै नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री श्रेष्ठले स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण गर्ने निर्णय गरे।
कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्ने गरी एक सातामै योजना ल्याउने उनले बताए।
पदभार ग्रहण गर्दै सहरी विकासमन्त्री चौधरीले प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरे।
उनले छोटो समयका लागि आएको तर धेरै काम गर्नुपर्ने भन्दै आफूले क्षमता, योग्यताअनुसार रफ्तारमा काम गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘ म धेरै ठाउँमा बोलिरहेको छु। हिरो होन्डा र स्पोर्ट्स बाइकको गति एकै हुँदैन। हिरो होन्डाको गति सबैभन्दा कम हुन्छ भने स्पोर्ट्सको स्पिड ३–४ सय हुन्छ। त्यसैले म म स्पोर्ट्स बाइकको स्पिडमा इमानपूर्वक काम गर्छु।’
पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री भवानी खापुङले ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे।
मन्त्री खापुङले दूरदराजमा रोग पहिचान गर्न कठिनाइ हुने र उपचार नहुने अवस्था अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य शिविर लैजाने बताए।
पदभार ग्रहण गर्दै नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना स्वीकृत गरे।
पहिलो निर्णयका रुपमा उनले आर्थिक वर्ष २०७/८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेका हुन्।
नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।