काठमाडौं। परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताएका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ मा परराष्ट्र मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुनेगरी कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन्।
सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको उनको दाबी छ। उनले अन्तर्राष्ट्रिय क्षेत्रमा तथा उपक्षेत्रीय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताए।
उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाल, भारत सीमासम्बन्धी समस्या समाधानका लागि सरकारले भारतसँग कूटनीतिक स्तरमा वार्ताको प्रयास भइरहेको बताए।