काठमाडौं। सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्धको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेको हो।
कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको मुद्दा यसअघि जेठ ३० गते र असार ५ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो।
प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ। गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।
न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते उक्त विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो।