काठमाडौं। काठमाडौं उपत्यकाका केही स्थानमा फोहोर अझैं उठ्न सकेको छैन।
विशेषगरी बागबजारको पद्म कन्या क्याम्पस अगाडि, भक्तपुर बसपार्क अगाडि र केएसी कलेज अगाडिको फोहोर उठ्न सकेको छैन। जसका कारण दुर्गन्ध फैलिएको छ।
लामो समयसम्म फोहोर उठ्न नसकेपछि त्यसलै हैजाको संक्रमण फैलाउने जोखिम झनै बढाएको छ।
काठमाडौं उपत्यकामा सबैभन्दा पहिले बागबजारका दुईजनामा हैजा पुष्टि भएको थियो। हाल हैजा उपत्यकाका १० भन्दा बढी स्थानका १२ जनामा हैजा देखिइसकेको छ। फोहोर पानी र उठ्न नसकेको फोहोरका कारण हैजा फैलिएको पुष्टि भइसकेको छ।
थुप्रिएको फोहोर उठ्न नसके हैजा झनै फैलिएर भयावह रुप लिन सक्ने चिन्ता स्वास्थ्यकर्मीहरुको छ।
केही दिनको फरकमा आउने फोहोर संकलकले पनि लापरवाही गर्ने गरेका छन्। उनीहरुले संक्रमणबाट बच्न कुनै सावधानी अपनाएको देखिँदैन। त्यसले उनीहरुबाट हैजा अन्यमा फैलने जोखिम पनि छ।
विना सावधानी फोहोर संकलन गर्नेको परिवारमा पनि हैजादेखि अन्य संक्रामण रोग फैलिने जोखिम छ। तर, फोहोर संकलनको जिम्मा पाएको कम्पनीले फोहोर संकलन गर्नेको सुरक्षाका लागि केही पहल गरेको छैन। अर्कोतर्फ फोहोर राम्ररी नउठाउँदा वातावरण दुर्गन्धित हुने गरेको छ।
विना सावधानी फोहोर संकलन गरिँदै।
वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीले गाडी धेरै नभएर फोहोर व्यवस्थापनमा समस्या भएको बताए।
उनले भने, ‘गाडीको समस्या भएर फोहोर व्यवस्थापनमा समस्या छ। कहिले धोबीधारा, कहिले पुतलीसडक, कहिले बागबजारमा फोहोर उठाउँछौं। गाडी कम भएर समस्या भएको हो।’
हैजाबारे जानकारी दिन २४ सै घण्टा हटलाइन टलिफोन सेवा सुरु गरेको काठमाडौं महानगरका मेयर बालेन शाह (बालेन्द्र)ले हैजा फैलिन नदिन फोहोर व्यवस्थापनमा चासो दिन आवश्यक छ।
यस विषयमा बुझ्न खोज्दा मेयर शाहको फोन उठेन भने महानगरको कल सेन्टरबाट पनि कुनै सुनुवाइ भएन।